लिपुलेक
...मेरा लागि खुसीको क्षण त्यो हुने छ
जब मेरी आमाले
गिद्धले लुछेर लगेको
बलात् चोरेको अस्मिता
आफ्नो शरीरको चोक्टो
आफैंले फिर्ता पाएकी हुने छिन्
नेपालीहरुको शिर सगरमाथाझैं
र, मन बुद्धका चार आर्य सत्यले
सिँगारिएको हुने छ ।
...
तिमीलाई याद होला होगि
जतिबेला तिमी कसैको पञ्जामा थियौ
तिम्रो मुक्तिका लागि मैले पनि गीत गाएको थिएँ
जतिबेला तिम्रो ओठ थियो
तर आवाज थिएन
हात थिए तर हतियार थिएन
गोडा थिए तर गति थिएन
तिमी दास अर्थात् गुलाम थियौ
...
तिमीलाई यादै होला नि
त्यतिबेला मेरो ओठ र आवाज दुवै थियो
गोडा र गति अनि हात र हतियार
अनि शिरमा शान र माथमा मान थियो
र, त तिमीले अहिले लुटेर भित्राएका
टिस्टा काँगडा, मलाउ र माथि माथिका पहाडका शिरमा
रातो र चन्द्र सूर्य झन्डा फहराएर
शानका साथ शंखनाद गरिरहेको थिएँ ।
म जितिरहेको थिएँ, तिमी हारिरहेका थियौ
हार अर्थाात्
उठ्नु, जुट्नु र स्वतन्त्र मानव हुनुको चेत मरेको तिमी
हारलाई र उपहार सम्झिरहेका थियौ ।
...
जब तिमी यो ६–७ दशकदेखि कसैको बन्दकीबाट उम्कियौ
तर, तिमी अरुलाई बन्दकी बनाउनु पर्छ भन्ने पाठ पो सिकेर आएछौ ।
बिचरा तिमी !
तिम्रा फेरि कुदिन नफर्किए है
फेरि कुनै दिन
तिमीलाई तिमीले नै बलात्कार गरेको
सिक्किम र काश्मिरहरुले
तिम्रो मुहारमा लागेको कलंकको कालो पखाली दिनु नपरोस्
तिम्रो त्यही हबिगतबाट उठाउन
ती निमुखाहरु आउनु नपरोस् ।
...
त्यतिबेला मात्र म खुसी हुने छु
जतिबेला गिद्धले लुछेर लगेको
मेरी आमाको सित्रा
सकुशल फिर्ता हुनेछ
अस्मिताको उपदेश दिने
‘ऋषिमन’ को ढोंग उत्रिएको
तिम्रो असली मुहार नाँगिएको हुनेछ ।।
===
नवराज खतिवडा
१५ मंसिर, ०७६, काठमाडौं
(रातको ३ः४५ बजे)
#Lipulek, #Limpiyadhura
#GoOffIndia